Dinesh Raj Sapkota

Jul 19, 20212 min

विपद्मा विपन्नको सारथी

प्रदेश टुडे


 
गढवा, १ साउन । कोभिड–१९ को संक्रमणदर अत्यधिक बढ्दै गएपछि बैशाख १७ गतेदेखि दाङ जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । अहिले संक्रमण दर कम भएता पनि भीडभाड हुने स्थानहरूमा अझै पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञाको धेरै असर भने दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरलाई परेको छ । सयाँै विपन्न परिवार अहिले राहतको पर्खाईमा छन् ।

तीनै तहको सरकारले कोरोना प्रभावितहरूका लागि कुनैपनि राहतका कार्यक्रमहरू नल्याउँदा नागरिकहरू समस्यामा पर्दै गएका छन् । राहत घोषणाका कार्यक्रम नल्याउँदा नागरिकको जनजीवन प्रभावित बन्दै गएपछि क्रियटिङ पोसिव्लिटिज नेपाल (सिपि) यतिबेला विपन्न परिवारका लागि विपद्को सारथी बन्दै गएको छ ।

देउखुरी क्षेत्रका तीनवटा गाउँपालिकामा रहेका विपन्न परिवारहरूलाई सीपी नेपाल विपद्को सारथी बन्दै गएको हो । सिपी नेपालले देउखुरीको गढवा, राजपुर र राप्ती गाउँपालिकाका अति बिपन्न र मजदुर परिवारलाई राहत वितरण गरिरहेको छ । पालिकाहरूले राहत विशेष कार्यक्रम सञ्चालन नगरेपछि उक्त संस्थाले सम्बन्धित गाउँपालिका र वडाहरूको समन्वयमा उक्त राहत सहयोग गर्दै आएको छ ।

कोभिड–१९ का कारण जारी निषेधाज्ञाले विपन्न परिवारको जीवनयापन कठिन बन्दै गएको र महामारीका कारण दैनिक जीविका चलाउन समस्या परेका परिवारलाई स्थानीय निकायको समन्वयमा उक्त राहत सहयोग गरिएको सिपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताए ।

लकडाउनका कारण मजदुरी गर्दै आएका परिवारलाई जीविकोपार्जनमा समस्या भएपछि करिब ७ सय घर परिवारलाई उक्त राहत सहयोग गरिएको हो । जसबाट करिब ३ हजार ५ सयजना प्रत्यक्ष लाभान्वित भएका छन् र यो सहयोग अझै पनि जारी रहेको सिपी नेपालकी आमा समूह संयोजक सरिता चौधरीले जानकारी दिइन् ।

विपद् व्यवस्थापन कोषलाई सहयोग

सिपी नेपालले कोरोना प्रभावित नागरिकको स्वास्थ्य सुरक्षामा खर्च गर्ने गरी गढवा गाउँपालिका र राजपुर गाउँपालिकालाई २०÷२० हजार रूपैयाँ सहयोग गरेको छ । उक्त रकम सम्बन्धित गाउँपालिकाका अध्यक्षहरूलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम विपद् प्रभावित नागरिकका लागि खर्च गरिने सम्बन्धित गाउँपालिकाहरूले जनाएका छन् ।

उपचार खर्च सहयोग

यस वर्ष सिपी नेपालले विभिन्न समुदायका अतिविपन्न नौजनालाई उपचार खर्च सहयोग गरेको छ । उक्त रकम कोरोना महामारीको समयमा प्रत्यक्षरूपमा प्रभावित गढवा, राजपुर र राप्ती गाउँपालिकाका परिवारहरूलाई दिइएको थियो । जसले उनीहरूको उपचारमा केही सहयोग मिल्ने सिपी नेपालकी विद्यार्थी संयोजक दीपा चौधरीले बताइन् ।

स्वास्थ्य सामग्री सहयोग

कोरोना महामारीक फ्रन्टलाइनमा रहेर काम गर्दै आएका पत्रकारहरूका लागि सहयोग पु¥याउने उद्देश्यले संस्थाले नेपाल पत्रकार महासंघ दाङ शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सिपी नेपालले ५९ हजारका स्वास्थ्य सामग्रीमा १ सय थान मास्क, १ सय ५० थान सेनिटाइजर, १ सय फेसशिल्ड र १ सय सर्जिकल पञ्जा रहेका थिए । संस्थाले उक्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलाई हस्तान्तरण गरेको थियो ।

करिब १२ वर्षदेखि संस्थाले महिला र बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा कार्य गर्दै आइरहेको छ । अहिले करिब ५ सय ५० जना विद्यार्थीहरूले यस संस्थाबाट विभिन्न विद्यालयहरूमा निःशुल्क अध्ययन गरिरहेका छन् । साथै विभिन्न आमा समूहहरूबाट महिलाहरू विभिन्न उद्यमशीलतामा जोडिएका छन् । संस्थाले देउखुरीको गढवा, राजपुर र राप्ती गाउँपालिकामा कार्य गर्दै आइरहेको छ ।

By: Uma Bhandari

Copied from :https://epradeshtoday.com/2021/07/17/news-34308/?fbclid=IwAR3OEOZ5ZZQFJvU48muYxnbHUikcdQnhsHGXIUvN6vFroGChpSRQaSgMT04

    300
    4