top of page

सिकलसेल एनिमिया, किशोरी शिक्षा विविध कार्यक्रम

  • Writer: Dinesh Raj Sapkota
    Dinesh Raj Sapkota
  • May 17, 2023
  • 3 min read

सिसहनिया, २५ बैशाख । राप्ती–७, सिसहनियामा सिकलसेल एनिमिया, दुखाई व्यवस्थापन र किशोरी शिक्षासम्बन्धी विविध कार्यक्रमहरू गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी)को आयोजना र राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रमहरू गरिएको हो ।

ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा कार्यक्रमहरू नौं दिनसम्म सञ्चालन गरिएका थिए । कार्यक्रमहरूमा ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका नौजना मेडिकल विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

रगत परीक्षण कार्यक्रम क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी)को आयोजना र राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा रगत परीक्षण गरिएको छ । रगत परीक्षण कार्यक्रममा राप्ती गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ का २ सय ४२ जनाको स्क्रिनिङ गर्दा २८ जनामा सिकलसेल एनिमिया देखिएको सिसहनिया स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट रमेश चौधरीले जानकारी दिए ।

स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकालाई परामर्श गरी थप परीक्षणका लागि समन्वय गरिने र त्यसपछि मात्र रोग वा ट्रेट पत्ता लाग्ने र अझ थप सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिने सीपी नेपालका कर्मचारी श्याम चौधरीले जानकारी दिए ।

त्यस्तै राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले थारू समुदायको बाहुल्यता रहेको यस पालिकामा यससम्बन्धी कार्यक्रमहरूको आवश्यकता रहेको बताउँदै आगामी दिनहरूमा समन्वयका साथ कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका नौजना मेडिकल विद्यार्थी र सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले भेरी अञ्चल अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको भ्रमण गरेका छन् ।

सो भ्रमणका क्रममा सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डेसँग सिकलसेललगायत गर्भावस्था, थाल्सेमिया, दुखाई व्यवस्थापन, महिनावारीजस्ता विषयमा छलफल भएको सीपी नेपालका कर्मचारी मनोज श्रेष्ठले जानकारी दिए ।

यसका साथै सोही समूहले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि भ्रमण गरेको छ । प्रतिष्ठानका रेक्टर डा. वसन्त लामिछाने र फिजिसियन डा. अजयराज गौतमसँग भेटवार्ता गरेको सीपी नेपालका कर्मचारी सरीता चौधरीले जानकारी दिइन् । भेटवार्ताका क्रममा डा. लामिछानेसँग दाङ जिल्लामा किशोरी शिक्षा, प्रजनन स्वास्थ्य, परिवार नियोजन र सुरक्षित मातृत्वको अवस्थाका बारेमा छलफल गरिएको थियो ।

साथै डा. गौतमसँग दाङ जिल्लामा सिकलसेलको अवस्था, दुखाई व्यवस्थापन र बिरामीहरूले भोगिरहेको समस्याका बारेमा छलफल हुनुका साथै हेमोग्लोबिन इलेक्ट्रोफोरसेसका लागि बिरामीहरूले निजी ल्याबहरूमा महङ्गो शुल्क तिर्न बाध्य रहेको बताउँदै यस रोगको बारेमा जनचेतना जगाउँदै सोको लागि सबै क्षेत्रले पहल गर्नुपर्ने बताएका थिए ।

दुखाई व्यवस्थापन सचेतना सिसहनिया स्वास्थ्य चौकीको समन्वयमा राप्ती गाउँपालिकामा सिकलसेल एनिमिया र दुखाई व्यवस्थापनसम्बन्धी एकदिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सिसहनिया स्वास्थ्य चौकीका डाक्टर डा. भरत पोख्रेलले सोको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका विभिन्न वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरू, वडा नं. ६ का जनप्रतिनिधि, आमा समूहका सदस्य र शिक्षकहरूकोे सहभागिता रहेको थियो । यो विषय आफूहरूका लागि नयाँ भएको बताउँदै यो कार्यक्रमपश्चात् आफू कार्यक्षेत्र गाउँमा यस विषयमा आफूहरूले सचेतना फैलाउने सहभागीहरूले प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सिपी नेपालका सरीता चौधरी, स्वास्थ्य चौकीका प्रमुख धनबहादुर खड्का र ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।

सडक नाटक राप्ती गाउँपालिका–६, मझेरीयामा सिकलसेलसम्बन्धी चेतना फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ । अझै पनि धेरै समुदाय यससम्बन्धी अनविज्ञ रहेको र सो बारेमा सचेतना फैलाउनका लागि स्थानीय भाषाको प्रयोग गरेर नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

किशोरी शिक्षा कक्षा अवलोकन यसैबीच ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा सीपी नेपालद्वारा सञ्चालित किशोरी कक्षाको पनि अनुगमन गरिएको छ । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका नौजना मेडिकल विद्यार्थीले किशोरीहरूलाई किशोरी शिक्षाका बारेमा प्रशिक्षणसमेत दिएका थिए । अहिले ४ सय ५० जना किशोरीहरूले यससम्बन्धी प्रशिक्षण लिइसकेको सहजकर्ता सीता कुमालले जानकारी दिइन् ।

सीपी नेपालले ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको सहयोगमा विगत सात वर्षदेखि दाङ जिल्लाको गढवा, राप्ती र राजपुर गाउँपालिकामा सिकलसेलसम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । यसका साथै किशोरी शिक्षा र दुखाई व्यवस्थापन विषयक कार्यक्रम पनि सञ्चालन भैरहेका छन् ।


from: epradeshtoday

 
 
 

Opmerkingen


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • Instagram
  • Facebook
  • Youtube

© 2024 Creating Possibilities Nepal

bottom of page