Search
  • 11 Dec 2015 | 07:39am शुक्रबार२५ मंसिर

मुक्तिपछिको 'लावा जुनी'


गंगापरस्पुर (दाङ)- माघ लाग्यो कि डरले मन 'ढक्क' फुल्थ्यो। घरमा साहुहरूको ताँती लाग्थ्यो। बाबुआमालाई मोलमोलाइ गर्न भ्याइनभ्याई हुन्थ्यो। उनीहरू सकेसम्म कसेर 'भाउ' लिन खोज्ने, साहुहरूले घटाउनमै जोड दिने। अन्तिममा दुवै पक्षलाई 'मर्का नपार्ने' गरी मूल्यमा सम्झौता हुन्थ्यो। वर्षदिनको एकमुष्ठ रकम परिवारले साहुसँग बु‰थ्यो। यो 'सौदाबाजी' पछि गंगापरस्पुर लोखरपुरकी मञ्जु चौधरीलाई थाङ्ना काखी च्यापेर साहुको दैलो टेक्न करै लाग्थ्यो ।

हरेक माघमा यसै गरी मञ्जुको पुरानै साहुकहाँ 'करार' थपिन्थ्यो या त नयाँ ठाउँमा नयाँ सम्झौता हुन्थ्यो। कहिले काठमाडौं त कहिले दाङका साहुको घरमा कमलरी बसेका १० वर्षसम्मको अनुभव छ उनीसँग। 'थाहा पाउने भएदेखि नै कमलरी बस्न थालेकी हुँ,' उनले भनिन्, 'बाबुआमाले वर्षदिनको १० हजार रुपैयाँ बुझेर कमलरी पठाउँथे।

'मञ्जुको उमेर बढ्दै गयो। बाल्यकाल सकियो तर 'बैंस' आएन। किनकि, उनीसँग स्वतन्त्रता थिएन। साहुको निर्देशनले उनी बाँधिएकी थिइन्। मञ्जुले कमलरीबाट मुक्ति चाहन्थिन्। तर, माघ हरेक वर्ष आइरह्यो, बाबुआमाको 'सौदाबाजी' चलिरह्यो।

मञ्जु हुर्किइन्। परिवारले विवाहको तयारी गरिदिए। दासताबाट मुक्ति मिल्ने यो एउटा अवसर थियो। 'विवाह भएपछि त कमलरी बस्नुपर्दैन होला भन्ने लागेर खुसी भएँ,' उनले सुनाइन्।

घरपरिवारले छिमेकमै विवाह गरिदिए। मञ्जुको जीवनले नयाँ शृंखलातर्फ मोड लियो। उनको अपेक्षा पनि थियो– विवाहपछि घरव्यवहार स्याहारेर बसौंला।

फरक त आयो। तर, विवाह नहुँदासम्म बाबुआमाले 'सौदाबाजी' गरेर साहुको घरमा पठाउँथे।

विवाहपछि श्रीमान्ले सौदाबाजी थाले। 'कमलरी नबसे घर चल्दैनथ्यो,' उनले भनिन्। मञ्जु आफ्ना तीन साना सन्तानलाई घरमै छाडेर साहुकोमा जुठो भाँडा मा‰न जान्थिन्।

मञ्जुलाई दासताबाट मुक्तिको आस गर्ने ठाउँ पनि थिएन। तर, अहिले उनी 'लावा जुनी' (नयाँ जिन्दगी) बाँचिरहेकी छन्। जिल्लामा चलेको कमलरी मुक्तिको अभियानका क्रममा ५ वर्षअघि उनी मुक्त भएर नयाँ जीवन सुरु गरेकी हुन्।

'कमलरी बस्दा घरकाले वर्षको १० हजार रूपैयाँ पाउँथे,' उनले भनिन्, 'अहिले महिनाको १५ हजार कमाउँछु।'

उनी अहिले कमलरीका लागि खोलिएको दुपट्टा उद्योगमा काम गर्छिन्। कमलरीहरूको उत्थानका लागि क्रियटिभ भिजिबिलिटी नामक संस्थाले गंगापरस्पुरमै खोलिदिएको उद्योगमा मञ्जु तीन वर्षदेखि काम गर्दै आइरहेकी छन्। 'अब यही जिन्दगी सजिलै बाँच्न सक्छु,' उनले भनिन्। सरकारी विद्यालयमा पढ्ने उनका छोराछोरी अहिले बोर्डिङ स्कुलमा पढ्छन्।

अर्की पूर्वकमलरी स्थानीय जानकी चौधरी पनि अहिले लावा जुनी बाँचिरहेकी छन्। १२ वर्ष लामो दासताबाट मुक्ति मिल्नुको खुसी मात्रै हैन, घरपरिवार चलाउने गरी भइरहेको आर्थिक आम्दानीले प्रफुल्लित छिन् उनी। 'घरपरिवारलाई खान लाउन पुगेको छ,' उनले भनिन्, 'अब केही चिन्ता छैन।

'बाल्यकालदेखि कमलरी बस्न थालेकी जानकीले पनि विवाह भइसकेपछि पनि यो दासताबाट मुक्ति पाइनन्। कमलरी बस्दाका सकस कामको चाप मात्रै हैन, यातना पनि उत्तिकै भोग्नुपर्थ्यो। 'न्यानो ओछ्यानमा कहिल्यै सुत्न पाइएन, जहिले पेटीमा सुत्थेँ,' उनले विगत सम्भि्कइन्, 'न त तातो खान कहिल्यै पाइयो, जहिल्यै बासी खानुपर्थ्यो।' मुक्तिपछि उनी गाउँकै दुपट्टा उद्योगमा दुपट्टा बुन्ने काम गरिरहेकी छन्। दैनिक ८ घन्टा काम गर्छिन्, महिनाको १० देखि १५ हजार रूपैयाँ तलब पाक्छ। दुपट्टा उद्योगमा अहिले ८ जना पूर्वकमलरीले रोजगारी पाएका छन्। यो उद्योगले उनीहरूमा सीप विकाससमेत राम्ररी गराएको छ। उनीहरूले बुनेका दुपट्टा र ब्याग अहिले नेपाल मात्रै नभई बाहिरी मुलुकका नागरिकले समेत रुचाउन थालेका छन्। 'विदेशीले हामीले बुनेका दुपट्टा ब्याग किनेर लैजान्छन्,' अर्की पूर्वकमलरी इन्द्रा चौधरीले भनिन्, 'अहिले राम्रै आम्दानी छ।' पाँच वर्ष कमलरी बसेकी इन्द्रालाई अब आफ्नै सीपले बाँच्न सक्ने आत्मविश्वास बढेको छ। आफ्नै कमाइबाट पाँच जनाको परिवार पालिएको उनी बताउँछिन्। मुक्तिपछि 'लावा जुनी' पाएकी अर्की पूर्वकमलरी हुन् जुनु चौधरी। ५ वर्षसम्म अर्काको घरमा बनेकी जुनु अहिले सहकारी संस्थाको व्यवस्थापक छिन्। उनी भन्छिन्, 'मेरो जीवनमा यति ठूलो परिवर्तन आउला भन्ने कल्पनासमेत गरेकी थिइनँ।' सानैदेखि पढ्ने रहर भए पनि परिवारले कमलरी बस्न पठाएको उनी बताउँछिन्। साहुको घरमा बस्दाताका उनले धेरै यातना सहनुपर्यो । 'गाली गरेकोगर्यैी गर्थे,' उनले भनिन्, 'न खानाको ठेगान न सुत्नकै।' कमलरीमुक्तिको आन्दोलन चर्किएपछि २०५९ मा उनी मुक्त भइन्। त्यसपछि पढ्न थालेकी उनी अहिले बिएड पहिलो वर्षमा अध्ययनरत छिन्। 'मुक्त भएपछि नयाँ जीवन पाएँ,' उनले भनिन्, 'अब बाँच्नका लागि कसैको अगाडि हात जोड्नुपर्दैन।' जुनु अरूको नयाँ जीवनका लागि पनि उत्तिकै दौडधूप गर्छिन्। मुक्त कमलरी परिवारका लागि ऋण प्रवाह गर्नु उनको मुख्य लक्ष्य हो। 'हामीले मुक्त कमलरीका परिवारलाई सहुलियत ऋण दिन्छौं,' उनले भनिन्, 'कसलाई कस्तो समस्या छ भनेर सोधिखोजी गरिरहन्छु।' कमलरीको क्षेत्रमा विभिन्न संघसंस्थाबाट आउने बजेट यस्ता असहाय बालबालिकाको शिक्षादीक्षामा लगाउन उनले अहं भूमिका खेल्दै आएकी छन्। उनकै पहलमा अहिले गढवाको एक बोर्डिङ स्कुलमा ७९ पूर्वकमलरीका बालबालिकाले पढ्न पाएका छन्। 'संस्थाबाट आउने बजेटबाट ७९ पूर्वकमलरीका बालबालिकालाई बोर्डिङ स्कुलमा भर्ना गरेका हौं,' उनले भनिन्, 'यस्ता असहाय बालबालिका गाउँगाउँमा गएर छान्ने गरेकी छु।' उनकै पहलमा गढवाकी सुषमा चौधरी स्थानीय बुद्धज्योति उच्च माविमा कक्षा ६ मा पढ्छिन्। यसअघिसम्म सरकारी विद्यालयमा पढ्दै आएकी सुषमा भन्छिन्, 'बुबाआमाले सरकारी स्कुलमा पनि नपढाउने कुरा गर्नुहुन्थ्यो, अहिले बोर्डिङ स्कुलमा पढ्न पाएँ, खुेसी लागेको छ।' उनका अनुसार घरपरिवारले सुषमाको पढाइ छुटाएर कमलरी पठाउने तयारी गरिरहेको थियो। उ जिल्लामा चलेको कमलरी मुक्तिको अभियानका क्रममा मुक्त कमलरीहरूमध्ये धेरैजसो अहिले कुनै न कुनै व्यवसायमा संलग्न छन्। केही अध्ययनमा जुटेका छन्। तर मुक्तिको अभियान सेलाउँदै जानु कमलरी प्रथा निर्मूलका लागि अर्को चुनौती बनेको छ। सरकारले नेपाललाई कमलरीमुक्त राष्ट्र घोषणा गरेयता यो अभियानमा लागेका धेरै संस्थाले अहिले हात झिकिसकेका छन्।

Copy from: http://archive.nagariknews.com/2016/society/nation/story/50231.html

#Kamlari #women #empowerment #nepal #dang #NagarikNews

10 views

Creating Possibilities Nepal

Contact Us

Bhairavi Marg, Kathmandu 44600, Nepal

97714008617