Dinesh Raj Sapkota

Jan 16, 20202 min

थारु महिलाहरूले खेले फुटबल

दाङ । सधैँ घरभित्रको चुलोचौकामा अल्झिँदै आएका दाङका थारु महिलाले माघीको अवसरमा फुटबल खेलेर मनोरञ्जन गरेका छन् ।

रुकमाया चौधरी अहिले ४९ वर्षकी भइन् । उनका विवाह भइसकेका छोराछोरी छन् । तर एकाबिहानै रुकमाया जनता माध्यमिक बिद्यालय, दाङको प्राङ्गणमा उनी फुटबल जर्सिमा देखिइन् । उनी जस्तै १ सय चार जना महिला शुकवार सेतो र पहेलो जर्सीमा देखिएका थिए ।

क्रियटिङ पोसिबिलिटिज, (सीपी) नेपालले माघीको अवसरमा आयोजना गरेको माघी विशेष कार्यक्रमअन्तर्गत यो अवसर जुरेको थियो । सीपी नेपालले गठन गरेका आमा समूहका महिला फुटवल प्रतियोगितामा सहभागी भएका थिए । ‘‘कति घरको काममा मात्र बस्नू कहिले काहीँ बाहिरका नयाँ कुराहरु पनि सिक्न मन लाग्यो ।’’ रुकमायाले भनिन् ।

📷

मैदानमा निकै फुर्तिली देखिएकी अर्की सहभागी गढवा गाउँपालिका – ३ माधवपुरकी ४१ वर्षीय ज्ञानमति चौधरीले भनिन् – ‘‘यसरी टी सर्ट र हाप पाइन्ट कहिले लगाएको थिएन र फुटबल पनि खेलेको थिएन् । तर, खेल जित्छु भन्ने आँट छ’’ । जिन्दगीमा यसरी खेलिनेछ भनेर सोचेको पनि थिएन उनले भनिन् ।

मखमली आमा समूहकी सदस्य अन्जु चौधरी पनि फुटबल खेल्नकै लागी मैदानमा आएकी थिइन् । आजसम्म कुनै पनि खेल नखेलेको र फुटबल खेल्दा निकै रमाइलो हुनुका साथै आत्मबिश्वास बढेको उनले बताइन् । ’’कति बस्छौ चुलो र चौकामा, आऊ बाहिर रमाऊ खेलमा’’ भन्ने नाराका साथ भएको खेलका अधिकांश सहभागी पूर्वकम्लहरी थिए ।

महिलाहरू यसरी फुटबल खेल्न जर्सीमा उत्रिँदा दर्शकले पनि राम्रै साथ दिएका थिए ।

साइकल सहयोग

यसैबीच क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकासमेतको सहयोगमा माघीको अवसरमा शनिवार दाङको गढवामा ९ लाख बराबरको साइकल वितरण गरेको छ । त्यससमध्ये २ लाख बराबर गढवा गाउँपालिकाको सहयोग रहेको थियो ।

मुक्त कम्लहरीका, अति विपन्न, गरिबका सन्तानलाई र उद्यमशील महिलालाई शैक्षिक तथा व्यावसायिक प्रोत्साहनस्वरुप उक्त साइकल वितरण गरिएको र यसरी प्रदान गरिएको साइकलले उद्यमशील महिला र अध्ययनरत बालबालिकाको जीवन सहज बन्ने क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

📷

नेदरल्यान्ड र क्यानाडाका स्वयंसेवी संस्थाको सहयोगमा विगत ६ वर्षदेखि माघीको अवसरमा साइकल वितरण हुँदैआएको सापकोटाले बताए ।
 
(हेमराज शर्माको सहयोगमा)

    400
    4