top of page

किशोरीको क्षमता बढाउन ‘हिरो गल्र्स’ अभियान

  • Writer: Dinesh Raj Sapkota
    Dinesh Raj Sapkota
  • Aug 5, 2022
  • 2 min read

दशरथ घिमिरे

ree

देउखुरी । राजपुर गाउँपालिका–२ निवासी स्नेहा नेपाली कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई सधैं ‘आफू कमजोर छु, केही गर्न सक्दैन’ भन्ने लाग्थ्यो । जीवनको लक्ष्य थिएन । जे हुन्छ त्यही गर्ने सोचले अघि बढ्नु भएकी स्नेहाले अब भने जीवनको लक्ष्य फेला पार्नुभएको छ । ‘मेरो लक्ष्य भनेकै विजनेश गर्ने हो । जागिर खाँदिनँ । अरुलाई जागिर दिने योजना छ’– भविष्यको योजना बताउँदै स्नेहाले भन्नुभयो– ‘छोरीलाई अवसर दिन सबै ठाउँबाट रोकावट हुँदोरहेछ । तर त्यो रोकावट पार गरेर सफल बन्ने योजना बनाएकी छु ।’ राजपुर गाउँपालिकामा हिरो गल्र्स अभियान शुरु भएपछि स्नेहा जस्ता धेरै छोरीहरुले भविष्यको योजना बनाउन थालेका छन् । गरिब, विपन्नताका कारण पछि परेका समुदायका छोरीले आत्मनिर्भरताको बाटो रोज्न थालेका हुन् । विद्यालय तहको शिक्षामा किताबी ज्ञान मात्रै दिने तर व्यावहारिक ज्ञानको सधैं अभाव भइरहन्छ । त्यस्तो अभावलाई पूर्ति गर्न जनज्योति माध्यमिक विद्यालयका ५३ जना छोरी हिरो गल्र्स अभियानमा जोडिएका छन् । यो अभियानको क्रममा विद्यालयको नियमित पठनपाठनबाहेक बाँकी समय व्यावसायिक र जीवनकौशल सीप सिकेका छन् । व्यवसाय गर्दा हुने फाइदा र त्यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेका हुन् । जुनसुकै काम गर्दा पनि त्यसमा दत्तचित्त भएर लाग्ने हो भने सफल हुन सकिन्छ भन्ने साझा धारणा बनाएका छन् । यही धारणा र ज्ञान सीपका आधारमा ९, १०, ११ र १२ कक्षामा पढ्ने किशोरीहरुलाई दीक्षित गरिएको छ । विद्यालयमा अध्ययन गर्ने किशोरीहरुको क्षमता अभिबृद्धिका लागि हिरो गल्र्स अभियानले सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक केशवराम यादवले बताउनुभयो । ‘कक्षामा नेतृत्व लिनुप¥यो भने त्यसमा हिरो गल्र्स अभियानका किशोरीहरु अघि सरेको देख्दा खुशी लाग्छ’– प्रधानाध्यापक यादवले भन्नुभयो– ‘पढाइसँगै किशोरीहरुमा नेतृत्व गर्ने सीप अभिबृद्धि भएको महसुस गरेका छौं ।’ क्रियटिङ पोसिबिलिटिज नेपालले विद्यालयसँग सहकार्य गरेर हिरो गल्र्स अभियान चलाएको थियो । यो अभियानबाट किशोरीहरुलाई कमाउँदै पढ्दै गर्ने अभियानमा सघाउ पु¥याएको क्रियटिङ पोसिबिलिटिज नेपालका प्रबन्धक दिनेशराज सापकोटाले बताउनुभयो । ‘गाउँका विद्यालयमा एउटा के खाडल देखियो भने छोरीहरु विद्यालय जाने, आउने मात्रै । तर उनीहरुको अन्य सीप अभिबृद्धिमा पहुँच नपुग्ने देखियो । त्यही भएर हामीले छोरीहरुलाई अघि बढाउन, पढाइपछि पनि उनीहरुको भविष्य सुन्दर बनाउन यस प्रकारको अभियान थाल्यौं’– उहाँले भन्नुभयो– ‘कक्षा १० पछि अथवा प्सल टु पछि के गर्ने भन्ने हुनसक्छ । पढाइसँगै आय आर्जनको काममा जोडिन सक्ने गरी साहसी युवती अर्थात हिरो गल्र्स नाम दिएर अभियान चलायौं ।’ राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले पालिकाभित्रका माध्यमिक विद्यालयमा व्यावसायिक सीप अभिबृद्धि र परामर्श प्रदान गर्ने शिक्षकको व्यवस्था गरेर अभियानलाई सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । ‘हिरो गल्र्स अभियान एउटा प्रेरणादायी अभियान हो । किशोरीहरुलाई अघि बढ्न मद्दत गर्छ’– उहाँले भन्नुभयो– ‘यो अभियानमा पालिकाले पनि साथ दिन्छ । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न चाहेका छौं । त्यसमा सबैको साथको खाँचो छ ।’ राजपुर गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कक्षा १० सम्म निःशुल्क शिक्षा लागु गर्ने र शिक्षा आर्जन गर्नबाट पैसा नभएकै कारण कोही पनि बञ्चित नहुने अभियान चलाएको छ । उपाध्यक्ष धनपती यादवले किशोरीहरुलाई अघि बढाउन गाउँपालिकाले लगानी गर्ने बताउनुभयो । ‘यहाँहरु कसरी व्यवसाय गर्ने, के उद्यम गर्ने भन्ने तालिम लिनु भएको छ । पढ्दै गर्न सकिने उद्यमको लागि सहयोग चाहिएमा गर्न तयार छौं’– उहाँले भन्नुभयो– ‘हामी तपाइँहरु माथि लगानी गर्न तयार छौं ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीले औपचारिक शिक्षा हासिल गर्दै व्यावसायिक सीप तथा दक्षता अभिबृद्धि हुन जरुरी रहेको बताउनुभयो ।

श्रावण १७, २०७९

दशरथ घिमिरे

From: नयाँ युगबोध पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिक

 
 
 

Comments


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • LinkedIn
  • Instagram
  • Facebook
  • Youtube

© 2025 Creating Possibilities Nepal

bottom of page