script>var poptin_single_page_app = true; प्याडको विकल्पमा महिनावारी कप
top of page

प्याडको विकल्पमा महिनावारी कप


प्रदेश टुडे गढवा, १० भदौ । जुनु चौधरी उनको बचत तथा ऋण सहकारी संस्थामा काम गर्दै आइरहेकी छन् । उनका अनुसार महिनावारीको समयमा उनले पहिले प्याड प्रयोग गर्दथिन् । तर लकडाउनको समयमा ती सबै बन्द भएता पनि उनलाई कुनै असर परेन् । किनकि उनले महिनावारीको समयमा प्याडको सट्टामा महिनावारी कपको प्रयोग गर्दै आइरहेकी छन् । उनले यसका बारेमा क्रियटिङ पोसिबिलिटिज नेपालमार्फत थाहा पाइन् ।


‘शुरूमा मलाई यो प्रयोग गर्न नजानेर निकै गाह्रो भयो । तर प्रयोग गर्दै गएपछि यो निकै राम्रो लाग्यो । अझ लकडाउनको समयमा मेरो लागि बरदान नै सावित भयो’ उनले भनिन् ‘म अरू महिला दिदीबहिनीहरूलाई पनि यो प्रयोग गर्न सुझाव दिने गरेकी छु ।’


यो कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बनेको हुन्छ । महिनावारीको समयमा यसलाई योनीभित्र राखिन्छ र सफा गरी पुनः प्रयोग गर्न सकिन्छ । योनीमा राखेपछि रगत बाहिर ननिस्कियोस् भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो काम गर्दछ । प्याडले भन्दा यसले धेरै रगत जम्मा गर्दछ । तर यसलाई निरन्तर खाली गर्दै जानुपर्दछ ।

रिया चौधरी एक गैर सरकारी संस्थामा कार्यरत छिन् । उनलाई धेरैजसो साइकल चलाएर विभिन्न समुदायमा पुग्नुपर्दछ । उनका अनुसार पहिले महिनावारीको समयमा कपडा वा प्याड प्रयोग गर्ने गर्दथिन् । उनले पनि यो कप केही महिनादेखि निरन्तर प्रयोग गर्दै आइरहेकी छन् । शुरूमा यो प्रयोग गर्न डराए पनि अब भने बानी परेको उनी बताउँछिन् ।

‘यसले मेरो पैसा बचत गरेको छ । मलाई साइकल चलाउन पनि सहज भएको छ । यसको प्रयोगले अन्य कुनै समस्या हुदैन र रगत चुहिने समस्या पनि भएको छैन्’ उनले भनिन् ‘जस्तोसुकै महामारी भएता पनि महिनावारी त रोकिदैन त्यसैले यसको प्रयोगले महामारीमा मलाई निकै सजिलो भएको छ ।’


साल्ट कप अमेरिकाको सहयोगमा क्रियटिङ पोसिबिलिटिज नेपालले ग्रामीणस्तरका महिलाहरूलाई यो कप सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको र महिनावारीमा सरसफाईसम्बन्धी र महिनावारी कपसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

त्यस्तै अहिलेसम्म क्रियटिङ पोसिबिलिटिज नेपालबाट नियमित रूपमा ५ सय ८६ जना महिलाहरूले यो प्रयोग गर्दै आइरहेको नेपालकी महिला स्वास्थ्य तथा सरसफाई कार्यक्रम संयोजक प्रेसा चौधरीले जानकारी दिइन् ।


कसरी प्रयोग गर्ने ?



कपलाई योनीभित्र राख्न सकिन्छ । पहिलो पटक राख्दा केही अप्ठेरो हुन सक्छ । यो एक पटकमा ८ देखि १२ घण्टासम्म प्रयोग गर्न सकिन्छ । बढी रक्तश्राव भएमा भने एक पटकमा चारदेखि पाँच घण्टामै निकाल्न सकिन्छ ।

निकालेर विशेष प्रकारको साबुनले पखालेर पुनः प्रयोग गर्नुपर्दछ । कपको प्रयोग गर्दा पिसाव फेर्न कुनै समस्या भने हुँदैन् । वर्षेनी हजारौ रूपैयाँको प्याड किन्नुपर्दा खर्चिलो हुन्छ भने यो कप एक पटक किनेर दश वर्षसम्म प्रयोग गर्न सकिन्छ । यो कप मेरी स्टोप सेन्टरबाट पनि पाउन सकिन्छ ।



64 views0 comments
bottom of page